बिचल्लीमा दलित बालबालिका

Advertise with us
Advertise with us
 
सल्यान, कार्तिक । एउटा दलित परिवार । घामपानी छेक्नलाइ सानो झुपडि । परिवारभरि सात जना छोराछोरी । चेतनाको अभाव, परिवार नियोजनका साधनको उपलव्धता नहुनु जस्ता कारणले आधा दर्जन बढि सन्तान जन्मीए ।

 
विरामी बुवा, जसले सकि नसकि भए पनि काम गरेर सन्तानको पेट पालिरहेका थिए । विरामीले निकै च्यापेपछि बुवाको उपचार नपाइ ज्यान गुम्यो । र त्यसको केहि समयपछि आमाको पनि । अहिले भत्कीएको जोखिमपूर्ण झुपडिमा भोको पेट सहित कष्टपूर्ण जीवन गुजारिरहेका छन् सात भाइवहिनीहरु ।
 

Buddha International Hospital
 
सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर दुईका यी विचल्लीमा परेका बालवालिकाको उद्धारमा सरकारको आँखा लाग्न सकेको छैन । भत्कीएको कच्ची घरमा बसिरहेका १८ बर्षिय काँसिराम विक, १६ बर्षिय भिम बहादुर विक, १४ बर्षिय झुपलाल विक, ११ बर्षिय दुर्गालाल विक, १० बर्षिय रोशन विक, ७ बर्षिय शोभा विक र ४ बर्षिय दिपक विकको पढाइ त अलपत्र परेको छ नै, भोको पेट पाल्न समेत निकै चुनौती देखिएको छ ।
 
 
डाक्टरको मुख नै देख्न नपाइ विक्रम संवत् २०७२ मा बुवाको मृत्यु भयो । यस्तै गत कार्तिक ३ गते आमालाई समेत गुमाएपछि यी टुहुरा बालवालिकाको भविष्य झन चौपट हुनतर्फ अग्रसर देखिएको छ । तर विचल्लीमा परेका यी वालवालिकाको गास, वास, कपास, स्वास्थ्य, शिक्षामा न त स्थानीय सरकारले तत्काल पहल थाल्न सकेको छ ।
 
न त प्रदेश र केन्द्र सरकारले नै टुहुरा बालवालिकाको दुःख देखेको छ ।
उनीहरुको सम्पतीको नाममा अहिले भत्किएको झुपडी, ३ रोपनी जग्गा र २ वटा बाख्रा रहेका छन् । अब सबै भाईबहिनीको खर्च टार्नमा १८ बर्षीय काँसिराम विकलाई चुनौती थपिएको छ । उनको काँधमा भाइवहिनीको भोको पेट भर्ने जिम्मेवारि बढेको छ । चीन्तीत हुँदै काँसिरामले भने, ‘भाइवहिनीले भोक लाग्यो भनेर रुन्छन् । घरमा न त पैसा छ न त अन्नपात नै छ । कसरि बाँच्ने हो विचल्लीमा परेका छौँ ।’ गाउँमा ज्याला मजदुरि गरेर घर खर्च जसोतसो टार्ने कोसिस गरिरहेको उनले बताए ।
 
 
उद्धारको लागी तत्काल पहल थाल्छौँ ः अध्यक्ष के सी
 
यसैबीच कालिमाटी गाउँपालिकाले तत्काल जोखिम अवस्थामा रहेका टुहुरा बालवालिकाको उद्धारका लागी निर्णय गर्ने जनाएको छ । गाउँपालिकाका अध्यक्ष दान बहादुर के सीले बुटवल टुडेसंग भने, ‘दलित बालवालिकाहरु विचल्लीमा परेको हामीलाइ थाहा छ ।
 
बाउआमा गुमाएपछि उनीहरु निकै समस्यामा परेका छन् । अव तीहार लगत्तै कार्यपालिकाको बैठक गरेर उनीहरुको उद्धारका लागी आवश्यक निर्णय गर्छाैँ ।’ वालवालिकाको पालन पोषण र शिक्षा, दिक्षाका लागी प्रदेश सरकार तथा जिल्लाका सांसदहरुसंग पनि कुरा गर्ने केसीले बताए । गाउँपालिकाको तर्फबाट आमाको मृत्यु हुँदा पाँच हजार रुपैयाँ किरिया खर्च वापत प्रदान गरिएको जनाउँदै अध्यक्ष केसीले दुःख, पिडा संगै जोखिममा परेका सात वालवालिकाको लागी सहयोगी हात अघि सार्न सबैमा आग्रह समेत गरेका छन् ।
 
विचल्लीमा परेका वालवालिकाको लागी स्थानीयहरुले ५ हजार ६ सय ८० रुपैया सहयोग गरेका छन् । दलित सेवा संघ सल्यानले पनि ती बालबालिका मध्ये एकजनालाई सिपमुलक तालिम दिएर रोजगार दिने प्रतिबद्धता जनाएको छ ।