आज राति चन्द्रग्रहण, कुन राशिलाई कस्तो प्रभाव ?

असार ३१ (जुलाई १६) गते आकाशमा एक अद्भुत खगोलिय घटना देख्न पाईनेछ । आषाढ शुक्ल पक्ष गुरु पूर्णीमाका दिन खण्डग्रास चन्द्र ग्रहण लाग्नेछ । यो चन्द्र ग्रहण एशिया, युरोप, अफ्रिकी देशहरु, अस्ट्रेलिया, दक्षिण अमेरिका र उत्तर अमेरीका को पूर्वी भागबाट देखिनेछ । करिब ३ घण्टा लाग्ने चन्द्र ग्रहण नेपाली समय अनुसार मध्य रात १ बजेर ४६ मिनेटमा ग्रहण स्पर्श हुनेछ। राति ३ बजेर १५ मिनेटमा मध्य समय र मोक्ष ४ बजेर ४५ मिनेटमा हुनेछ । हिन्दु धर्ममा आस्थावान हरुकालागि असार ३१ गते मंगलबार दिउँसो ४ बजेर ४६ मिनेट देखि सुतक लाग्ने हुनाले बाल, वृद्ध र बिमारी देखि बाहेकले भोजन नगर्नु उत्तम हुनेछ ।

यो चन्द्र ग्रहण उत्तरषाढा नक्षत्र, वैधृती योग, विशिष्ट करण तथा धनु र मकर राशिमा चन्द्रमा को गोचर हुँदा लाग्नेछ । यो ग्रहण धनु राशिमा रहँदा केतु र शनि सँग युती सम्बन्ध हुनेछ । मिथुन राशिबाट सुर्य, राहु र शुक्रको दृष्टि रहनेछ । राहु र केतुबाट अन्य ग्रहहरु समेत पिडित बन्ने हुनाले ज्योतिषीय दृष्टिकोण बाट यो चन्द्र ग्रहण खराब मान्न सकिन्छ । यसबाट विषेश गरि अतिवृष्टि, अनावृष्टि एवं प्राकृतिक विपत्तिको अवस्था आउन सक्नेछ ।

Blog Post Ad

यसको असर प्राकृतिक, सामाजिक र राजनितीक क्षेत्रमा देखिनेछ । चन्द्र ग्रहणको प्रभाव शासन पद्धती मा पर्ने देखिन्छ । मन्त्री लगायत सरकारी अधिकारी हरुको कार्यमा विचलन आउनाले जनगुनासो बढ्न सक्नेछ । उनिहरुको जिम्मेवारी समेत हेरफेर हुन सक्नेछ । चन्द्रग्रहण को युती मंगल बुध बाट षडाष्टक योग बन्छ । यसले जलवायु परिवर्तनमा विषेश असर पार्न सक्नेछ । राजनितिक रुपमा हेर्दा नेता हरु विच मनमुटाव बढ्न सक्नेछ भने निर्णय प्रक्रियामा ढिलाई हुनेछ ।

Blog Post Ad

धनु राशि र मकर राशिमा ग्रहण लाग्ने हुनाले यि राशि हुने व्यक्ति हरु लाई बढि कष्ट हुन सक्नेछ । समग्रमा यो ग्रहण को फल राशि अनुसार निम्न बमोजिम प्राप्त हुने देखिन्छ ।

मेष- माननाश
वृष – कष्ट
मिथुन- स्त्रीपिडा
कर्कट- सुख
सिंह – चिन्ता
कन्या – व्यथा
तुला – श्रीप्राप्ती
वृश्चिक – क्षती
धनु – घात
मकर – व्यय
कुम्भ- लाभ
मिन – सुख

यो चन्द्र ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मिन राशिलाई जुरेको छ । अन्य राशि लाई जुरेको छैन । ग्रहण अवधिमा दीर्घ रोगि र गर्भवति महिलाले बाहिर ननिस्कनु शुभ हुनेछ । धार्मीक मान्यता अनुसार ग्रहण अवधिमा नयाँ कार्यको थालनी नगर्नु, खानेकुरा नखानु, सुत्ने, कपाल कोर्ने, दाँत माझ्ने ईत्यादि कार्य नगर्नु उत्तम हुनेछ । ग्रहण सकिएपछि नुहाई धुवाई गरेर आफ्नो अवस्था अनुसार दान गरि आफ्नो नित्य कर्म गर्नू शुभ हुन्छ ।

ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न ५ कुराको चर्चा गरिएको छ ।

१ यौन सम्बन्ध राख्नु हुँदैन

ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गुणले भरिएको हुने उल्लेख छ ।

२ भोजन नगर्नुस्

ग्रहण लागेको समयमा भोजन तयार गर्नु भएको छ भने त्यसलाई ग्रहण नगर्नुस् । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानुस् । ग्रहण लागेको समयमा पाकेका खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।

३ ग्रहणपछि सरसफाइ गर्नुस्

ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रमा उल्लेख छ ।

४ पुजा नगर्नुस्

ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्र भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । यस्ता मन्त्रमा ऊँ नम: शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नम: आदि हुन सक्छन् ।

५ गर्भवती बाहिर जानु हुँदैन

गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *