जडीबुटीबाटै ‘आत्मनिर्भर’

जुम्ला । जडीबुटीबाट जुम्लाका महिला आत्मनिर्भर बन्न थालेका छन् । घरायसी काम सकिएकाले उनीहरू अहिले समूहमा नजिकैका स्थानमा जान थालेका छन् ।

Buddha International Hospital

Advertise with us

जिल्लाका तातोपानी र चन्दननाथ नगरपालिका क्षेत्रका महिला स्थानीय ह्याट्या÷खिरौला टिपेर आर्थिक रूपमा सम्पन्न भएको बताउँछन् । विगतका वर्षझंै यो वर्ष पनि खिरौलाको सिजन सुरु भइसकेको छ । खिरौलाबाट असोज महिना मात्रै २० हजार रुपैयाँ आर्जन भएको तातोपानी–४ गौतमबाडाकी विपना जैसीले बताइन् । उनी मात्रै होइन, गौतमबाडाका झन्डै २५ घरका महिलाले खिरौलाबाटै प्रतिमहिना १५ देखि २० हजार आर्जन गर्ने गरेका छन ।

वडा–६ की बिजुली कामी यो वर्षको तिहार जडीबुटीको रुपैयाँबाटै टार्ने सोचमा रहेको बताउँछिन् । ‘दसंै खिरौलाको रुपैयाँबाट चल्यो,’ उनले भनिन्, एक दुई दिनमै फेरि पाटन जाने तयारीमा छौं ।’ उनका अनुसार व्यापारीले पेस्कीस्वरूप रुपैयाँ दिइसकेका छन् । जडीबुटी व्यापारीले पाटनै गएर महिलाले संकलन गरेका जडीबुटी किन्ने गरेका छन् । तातोपानीका–४, ५ र ६ का झन्डै २ सय जना महिला पाटन गएको व्यापारी प्रवीण पराजुलीले बताए । खिरौला व्यापारबाट व्यापारी मात्रै नभई महिलाले पनि राम्रो आम्दानी गरेका छन् ।

उनले भने, ‘एक व्यनपारीले करौडौको कारोबार दुई महिनाको अवधिमा गरेका छन् ।’ गाउँबस्ती नै सुनसान बनाएर महिला पाटन लागेकाले यहाँका गाउँमा बालबालिका र बूढाबूढी मात्रै रहेका छन् । अरू बेला फजुलमा समय बिताउने गरेका पुरुष पनि महिलासँगै पाटन पुग्ने गरेका छन । एक घरका ३ र४ जनासम्म पनि जाने गरेका छन् । घर नजिकैको वनमा र पाटन क्षेत्रमा पाइने जडीबुटी संकलन गरेर बिक्री गर्ने गरेका उनीहरू त्यसबाट घरायसी खर्चका साथै छोराछोरीको पढाइ खर्च जुटाउन सहज भएको बताउँछन् । स्थानीय कर्णाली क्षेत्रमा पाइने यार्सा गुम्बा, जटामसी, खिरौलो, सेता चिनी, पाखनवेद, सुगन्धवाल, गुच्ची च्याउ, रातो च्याउ, वन लसुनलगायतका जडीबुटी संकलन गर्ने गर्छन् ।