दुधमा कृषककै बदमासी

घोराहीमा भित्राउन थालिएको देउखुरीको गुणस्तरहिन दुध डेरी सञ्चालकद्धारा फिर्ता

नवीन अभिलाषी
दाङ, जेठ २२ । देउखुरीका विभिन्न दुध संकलन केन्द्रहरुले कृषकबाटै गुणस्तरहिन दुध खरिद गरेर विभिन्न डेरी पसलमा विक्रि वितरण गर्ने गरेको पाईएको छ । देउखुरीका विभिन्न स्थानका कृषकहरुले दुध संकलन केन्द्रमा गुणस्तरहिन दुध विक्रि गर्ने र संकलन केन्द्रहरुले त्यहि दुध घोराहीसम्म आउने गरेको पाईएको छ ।

लामो समयदेखि दुध संकलन गर्दै आउनु भएका सुर्यलक्ष्मी दुध संकलन केन्द्र भैसहवा राजपुरका सञ्चालक शिवकुमार यादवले कृषकहरुले नै गुणस्तरहिन दुध ल्याउने गरेको बताउनुभयो । प्रतिस्पर्धाको बजार भन्दै यादवले कृषकबाट त्यो दुध खरिद नगरे उनीहरुले अरुलाई नै दिने भएपछि खरिद गर्नै पर्ने बाध्यता रहेको बताउनुभयो । ‘जाडो सिजनमा पनि उनीहरुको दुध किनिदिनु पर्छ र घाटाको ब्यापार गर्नुपर्छ, हैन भने अहिलेको समयमा अरुलाई दुध दिन्छन् ।’ शिवकुमार यादवले भन्नुभयो ।

Buddha International Hospital
Advertise with us

कृषकहरुले संकलन केन्द्रमा ल्याएको दुधमा दुधको मात्रा (ल्याक्टो) को मापन गर्दा शुन्य अबस्था भेटिएको यादवले तथ्यांक देखाउनुभयो । विशेषगरी देउखुरी राजपुरका विभिन्न स्थानमा रहेका दुध संकलन केन्द्रले गुणस्तरहिन दुध संकलन गर्ने गरेको पाईएको डेरी व्यवसायी संघका अध्यक्ष इश्वरीप्रसाद उपाध्यायले पनि बताउनुभयो । उहाँका अनुसार राजपुरका भैसहवा, बसन्तापुर, दुलरिया, गंगदी लगाएतका स्थानका कृषकहरुले संकलन केन्द्रमा ल्याएका दुधमा पानी मिसाउने र ल्याक्टोको मात्रा शुन्य अबस्थाको दुध संकलन केन्द्रलाई दिने गरेको बताउनुभयो ।

दुध बोकेका गाडी फिर्ता
पटक पटक सचेत गराउँदा पनि देउखुरी क्षेत्रबाट गुणस्तरहिन दुध भित्रिन नरोकिएपछि घोराहीका डेरी व्यवसायी तथा सञ्चालकहरुले मंगलबार देउखुरीबाट आएको दुध फिर्ता पठाएका छन् । दुई वटा गाडीबाट घोराहीमा भित्रिन थालेको देउखुरीको दुधलाई कटुवा खोलाबाटै फिर्ता गराएका हुन् ।

एक वर्ष भन्दा लामो समय देखि देउखुरी क्षेत्रबाट गुणस्तर हिन दुध भित्रिदै आएको डेरी व्यवसायी संघका अध्यक्ष उपाध्यायले बताउनुभयो । पटक पटक उनीहरुलाई सचेत बनाउँदा पनि गुणस्तरहिन दुध भित्रिने क्रम नरोकिएपछि दुध ल्याउने गाडीहरु नै फिर्ता गराईएको उहाँले बताउनुभयो ।

आफुहरुलाई यहाँको प्रहरी प्रशासनले गुणस्तरहिन बस्नु विक्रि वितरण गरेको भन्दै चपेटामा पार्ने तर बाहिरबाट आउने दुध नै गुणस्तर हुने कुरा प्रहरी प्रशासनले थाहा नपाउने भएपछि व्यवसायीहरुले नै गुणस्तरहिन दुध फिर्ता गराईएको उहाँले बताउनुभयो । दुई वटा गाडीमा राखेर घोराही ल्याउँदै गरिएको २ हजार लिटर भन्दा बढि दुधलाई फिर्ता गराईएको उहाँले जानकारी दिनुभयो ।

देउखुरीका विभिन्न क्षेत्रका कृषकहरुबाट संकलन गरेर घोराहीमा दुध विक्रिका लागि ल्याएको राजपुरका कृषक शिवकमार यादवले बताउनुभयो । उहाँले कृषकहरुले नै गुणस्तरहिन दुध संकलन केन्द्रमा ल्याउने गरेको बताउनुभयो । दुध परिक्षण गर्दा दुध (ल्याक्टो) को मात्रा शुन्य भएपछि त्यस्ता दुधले घोराहीको बजार विग्रने भएकाले सचेत भएर गाडी फिर्ता गरिएको डेरी सञ्चालकहरुले बताएका छन् ।

सोमबार घोराहीमा भएको प्रशासनको अनुगमन टोलीले डेरी पसलहरुमा विक्रि वितरण गर्ने दुग्धजन्य बस्तुहरुमा दुधको समस्या रहेको बताएका थिए । देउखुरीबाट दुध नआउने भएपछि घोराहीमा दुध दहिको सामान्य अभाव हुने डेरी व्यवसायी संघका अध्यक्ष उपाध्यायले बताउनुभयो ।

अवैध दुध संकलन केन्द्र छ्यापछ्याप्ती
कृषिको लागि उर्वर मानिने देउखुरी क्षेत्रमा पशुपालन समेत फस्टाउँदो मात्रामा छ । पशुपालन संँगसँगै फस्टाएको दुध उत्पादन र यसको विक्रिवितरणमा राज्यले नियमन तथा नियन्त्रण गर्न नसकेको पाईएको छ । जस्का कारण देउखुरी क्षेत्रमा जथाभावि रुपमा सञ्चालन भैरहेका दुध संकलन केन्द्रले गुणस्तरहिन दुध संकलन गरेर विक्रिवितरण गरेको पाईएको छ ।

देउखुरीको राजपुर क्षेत्रमा तीन वटा मात्रै दुध संकलन केन्द्र छन् । बाँकी एक दर्जन बढि दुध संकलन केन्द्र कुनै पनि निकायहरुमा दर्ता नभई सञ्चालन भएका छन् । ‘राजपुरको बगारबाबा दुध संकलन केन्द्र, सूर्यलक्ष्मी दुध संकलन केन्द्र र यादव दुध संकलन केन्द्र मात्रै दर्ता भएर चलेका छन् ।’ शिवकुमार यादवले भन्नुभयो, ‘बाँकी सबै केन्द्रहरु अवैध रुपमा सञ्चालन भैरहेका छन् ।’

राजपुरका हरिप्रसाद तेली, लक्ष्मण तेली, शत्रुधन यादव लगाएतले अहिले पनि अबैध रुपमा दुध संकलन गर्ने गरेको डेरी व्यवसायी संघले बताएको छ । उनीहरुलाई करको दायरामा ल्याउनको लागि सम्बन्धित गाउँपालिकाले कदम चाल्नु पर्ने देखिएको छ । ती संकलन केन्द्रहरुले कृषकबाट ४५ रुपैँया देखि ५० रुपैँया लिटरमा खरिद गरेर ५० रुपैया देखि ५५ रुपैँया सम्ममा विक्रि वितरण गर्दै आएको सञ्चालक यादवले बताउनुभयो ।

घोराहीमा दुधजन्य बस्तुको अभाव
दाङको घोराही बजारमा दैनिक ७ हजार लिटर दुध खपत हुने मोटामोटी तथ्यांक छ । तर यस आसपासका गाउँहरुमा उत्पादन हुने दुधले मात्र घोराही बजारको माग आपुर्ति हुन नसक्ने देखिन्छ । जस्का कारण देउखुरी क्षेत्रबाट दैनिक १८ सय देखि २ हजार लिटर दुध भित्रिने गरेको डेरी व्यवसायी संघका अध्यक्ष उपाध्यायले बताउनुभयो ।

देउखुरीबाट आएको गुणस्तरहिन दुध मंगलबार बाटोबाटै फर्काइदिएपछि मंगलबार दुध र बुधबार दहीको अभाव हुने संघले बताएको छ । ‘घोराही आसपासका गाउँहरुमा उत्पादन हुने दुधले बजारको मागलाई धान्न सक्दैन ।’ अध्यक्ष उपाध्यायले भन्नुभयो, ‘यसले बुधबारसम्म दुधका बस्तुहरु अभाव हुन सक्छ ।’