नाजुक बन्दै वातावरणीय प्रावि

एउटै कोठामा दुई कक्षा, विद्यालयमा न पानीको सुविधा न पुस्तकालय

नवीन अभिलाषी
दाङ, जेठ २१ । हुने खाने र पैसा भएकाहरुले नीजि स्कुलहरुमा विद्यार्थीहरु पठाए । तर गरिवहरुका बच्चाबच्चीले पढ्ने गरिव विद्यालयमा नै हो । घोराही उपमहानगरपालिका वडा नं. १६ करौतीडाँडा स्थित वाताबरणीय प्राथमिक विद्यालयमा गरिव विद्यार्थीले अध्ययन गर्दै आएका छन् तर सास्ती भोग्न बाध्य छन् ।

शौचालय जस्ता साना साना कोठामा बसेर विद्यार्थीहरुले अध्ययन गर्छन् । साना र साँघुरा कोठामा बसेर पढ्नुपर्ने बाध्यता रहेको विद्यालयका शिक्षिकाहरुले बताउछन् । त्यसमाथि पर्याप्त र सहज डेस्कबेञ्चहरु छैनन् । मुस्किलले ६÷७ वटा डेस्क बेन्च रहेका कोठामा कुन डेस्क हो र कुन बेञ्च हो भन्ने छैन । सबै बराबर भएपछि विद्यार्थीहरु न बसेर अध्ययन गर्न सहज छ, न उभिएर नै दिनभर कक्षामा रहन सहज छ । नर्सरीदेखि कक्षा २ सम्मका विद्यार्थीहरु कार्पेटमा कुसन विछ्याएर बस्ने गरेका छन् । विद्यालयमा डेस्क बेञ्चहरुको समेत अभाव हुँदा विद्यार्थीहरु कार्पेटमा बसेर पढ्नुपर्ने बाध्यता रहेको प्रधानध्यापक तेजबहादुर खड्काले बताउनुभयो ।

Buddha International Hospital
Advertise with us

करिव दुइ विगाह भन्दा बढि क्षेत्रफलमा फेलिएको जग्गामा रहेको विद्यालय अहिले भौतिक पुर्वाधारको अभावमा गुज्रीरहेको छ । भवनको अभावका कारण दुई वटा कक्षाका विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर पढाउन बाध्य रहेको विद्यालयका प्रधानध्यापक खड्काले बताउनुभयो । विद्यालयका नर्सरी र युकेजीका विद्यार्थीहरु एउटै कक्षामा राखेर पठाउने गरिएको उहाँले बताउनुभयो ।

न पानी, न पुस्तकालय
८५ जना विद्यार्थीहरुले अध्ययन गर्ने विद्यालयमा खानेपानीको भरपर्दो स्रोत छैन । जस्का कारण अहिलेको चर्को गर्मीमा विद्यार्थीहरु प्यासप्यासै बसेर पढ्ने गरेका छन् । लामो समयदेखिको खडेरीका कारण भएको एउटा कुवा सुकेपछि विद्यार्थीहरुले घरबाटै पानी बोकेर विद्यालय जानुपर्ने भएको छ ।

‘खानेपानीको राम्रो स्रोत छैन, केहि वर्ष पहिले खनेको एउटा कुवा थियो त्यो पनि सुकेपछि समस्या भएको छ ।’ प्रधानध्यापक खड्काले भन्नुभयो, ‘पानी सुकेपछि विद्यार्थीहरुले घरबाट पानी ल्याएर आउनु भनेका छौँ, बोतलमा पानी बोकेर ल्याउछन् ।’ गर्मिमा कुवाको पानी पिउँदा उल्टो जोखिम पनि छ । पानीलाई शुद्ध बनाउने फिल्टरको समेत व्यवस्था छैन ।

पछिल्लो पटक सरकारले प्रत्येक विद्यालयहरुमा पुस्तकालयहरु स्थापना गरेर सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । तर यो विद्यालयमा पुस्तकालय छैन । कुनै कुनै संस्थाले दिएको पाठ्य सामग्रीहरु सहितको पुस्तकहरु व्यवस्थित रुपमा राखिएको छैन । पुस्तकालय लगाएतका शैक्षिक सुधारको लागि आएको बजेट भौतिक संरचना निर्माण तथा मर्मतमा लगाएर विद्यालय चलाउनु परेको विद्यालयका प्रधानध्यापक खड्काले बताउनुभयो ।

समितिहरु प्रभावविहिन
विद्यालयको विकासको सहजीकरणका लागि निर्माण गरिएका विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघले प्रभावकारी रुपमा काम नगरेको पाईएको छ । बार्षिक रुपमा १२ पटक बस्नु पर्ने विद्यालय व्यवस्थापन समितिको बैठकको संख्या पनि पर्याप्त छैन भने शिक्षक अभिभावक संघको बैठक मुस्किलले दई तीन पटक मात्रै बसेको छ ।

शिक्षक अभिभावक संघका अध्यक्षका कुनै पनि बालबालिकाहरु विद्यालयमा अध्ययन गर्दैनन् । ‘उहाँका कुनै पनि बालबालिकाहरु यो विद्यालयमा छैनन्, उहाँको सक्रियता पनि कम भएर होला ।’ विद्यालयले बताएको छ । २०६१ सालमा स्थापना भएको विद्यालयहरुमा आयोजना हुने बैठकहरुमा विद्यार्थीहरुको सहभागीता पनि खासै नहुने गरेको विद्यालयले बताउछ ।

विद्यार्थीहरु बजारतीर
गाउँका विद्यार्थीहरु बजारको विद्यालयमा जान्छन् । बजारबाटै जाने बोर्डिङ स्कुलका बसहरु भरिएर घोराही आउछन् तर नजिकैको विद्यालय नाजुक अबस्थामा पुगेको छ । ‘गाउँका विद्यार्थीहरु लिन बजारका ९÷१० वटा बस आउछन्, सबै विद्यार्थीहरुले बजार तिर पढ्छन् ।’ प्रधानध्यापक खड्काले भन्नुभयो ।

विद्यालयको सुधारका लागि भौतिक संरचना निर्माणमा बजेट आबस्यक रहेको उहाँले बताउनुभयो । उहाँले भवन निर्माण गरेर कोठा थप गर्ने, पुस्तकालय निर्माण गर्ने, छात्राहरुको लागि सेनेटरी प्याडको व्यवस्था गर्ने, डेस्क बेञ्चको पर्याप्त मात्रामा बनाउने र खेलकुदका सामग्रीहरु समेत नभएका कारण सहयोगको अपेक्षा गरेको प्रधानध्यापक खड्काले बताउनुभयो ।