गाउँमै निशुल्क उपचार पाएपछि लाहापेका स्थानीयबासी दंग

ओमप्रकाश गुप्ता
भालुवाङ, जेठ १७ । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका ८ लाहापेकी ६३ वर्षिया चुना श्रेष्ठ निकै खुसी देखिइन । लामो समय देखि अप्ठ्यारो महसुस गरिरहेकी वृद्धा आफ्नो गाउँमै महिला रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर तथा औषधी बितरण भएपछि उनमा खुसी छाएको हो ।

अस्पताल सम्म जान सक्ने अवस्था थिएन, गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएपछि उपचार पाइयो,’ उनले भनिन् । उनीमात्र होइन ८६ वर्षीय गोपीराम थापा दमरोगले थलिएको धेरै भयो । गाउँपालिकामै दमको औषधी पाएपछि उनी निकै खुशी भए । उनले भने ‘गाउँमै आयोजना गरेको शिविरमा निशुल्क औषधी पाइयो । डाक्टरहरुको सल्लाह लिन पनि पाइयो । अब मलाई सञ्चो हुने भयो । लाहापे गाउँकी निर्मा सुनामले पनि निशुल्क स्वास्थ्य शिविरमै स्वास्थ्य सेवा पाउँदा निकै खुसी लागेको बताइन् ।

Buddha International Hospital
Advertise with us

उनले भनिन् ‘हाम्रै गाउँमा डाक्टरहरु आए । डाक्टरको सल्लाह अनुसार औषधी पनि पाए । अनि रगत र पिसाव पनि चेक गराउने अवसर पाए यसले मलाई ज्यादै खुसी लाग्यो । स्थानीय ६६ वर्षीय सुकी सुनारले भने हामीले शिविरमा सामान्य रोगको उपचार पनि पाएका छौं । चिकित्सको सल्लाह पनि पाएका छौं । यसले हामीलाई फाइदा भएको छ । उनले भने, ’सामन्य उपचारको लागी १ घण्टाको पैदल दुरीमा सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो गाउँमै सेवा पाउँदा एकदमै खुसी लागेको छ ।

सामुदायिक स्वास्थ्य केन्द्र र एकता युवा क्लव सितगंगा नगरपालिका ८ लाहापे अर्घाखाँचीको आयोजना एवम् राप्ती पोलिक्लिनीक राप्ती गाउँपालिका १ भालुवाङको प्राविधिक सहयोगमा शुक्रवार अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका ८ लाहापेमा सञ्चालन गरिएको एक दिने निशुल्क स्वास्थ्य शिविरमा ३ सय ८० नागरिकले सेवा लिएका छन् । जसमा २ सय जनाको सुगर जाँच र १ सय ५० जनाको पिसाव जाँच गरिएको थियो । शिविरमा नशा, ढाड कम्मर दुख्ने, दम लगायतका विरामी आएका थिए ।

गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुराउने उद्देश्यले शिविरको आयोजना गरिएको पोलिक्लिनीककी सञ्चालक तथा ल्याप टेक्निसियन सरिता खड्काले बताइन् । शिविरमा विभिन्न रोगको चेकजाँच, ब्लडसुगर, ब्लडप्रेसर,पिसाव,रगत परिक्षण, निशुल्क औषधी वितरण र तौल चेकजाँच लगायतका सेवाहरु प्रदान गरिएको थियो । शिविरमा डा. सरोज दर्नाल,कोपिला तामाङ, ल्याप टेक्निसियन सरिता खड्का, एच.ए सागर खासुमगर, फार्मेसीय किरण वली लगायतले स्वास्थ्य चेकजाँच तथा परिक्षण गरेका थिए । सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको सितगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद पौडेलले बताए ।

उनले भने ‘हाम्रो समुदायमा धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न बाध्य छन् । त्यस्ता नागरिकका लागि शिविरले सहयोग पुराएको हामीले महसुस गरेको बताएका छन् । स्वास्थ्य केन्द्रका अध्यक्ष तथा सितगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रुकबहादुर आलेमगरको अध्यक्षतामा शिविरको उद्घाटन गरिएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए ।

किशोर किशोरीलाई निशुल्क परिवार नियोजन सेवा प्रदान
अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका ८ लाहापेका विभिन्न वडाहरुमा किशोर किशोरीलाई निशुल्क परिवार नियोजन घुम्ती शिविर मार्फत सेवा प्रदान गरेको छ । राष्ट्रिय रोजगार प्रवर्धन केन्द्रको आयोजना एवम् युएनएफपीए र आड्रा नेपालको सहयोगमा शिविर सम्पन्न भएको हो ।

शिविरमा परिवार नियोजन सम्बन्धी सम्पुर्ण साधानको निशुल्क सेवा तथा परामर्श,किशोरीहरुलाई मनोसामाजिक परामर्श तथा चेकजाँच सेवा र निशुल्क औषधी समेत वितरण गरिएको आड्रा नेपालकी जिल्ला संयोजक तृप्ती ढकालले जानकारी दिएकी छिन् । नगरपालिकाको वडा नम्बर ८,९,११ र १४ मा शिविर सम्पन्न भएको हो ।