छैन मलको ‘स्टक’

समयमा वर्षात नहुँदा मारमा परेका कृषक मलको अभावले झन पीडित

नवीन अभिलाषी
दाङ, जेठ १७ । जेठ महिनाको मध्य भैसक्दा समेत वर्षात नहुँदा कृषकहरु चिन्तामा छन् । वैशाखमा छर्नु पर्ने मकै अहिलेसम्म छर्न पाएका छैनन् । पछिल्लो समय बढ्दै गैरहेको खडेरीका कारण यो वर्ष धान रोप्ने कार्यपनि पछि धकेलिने भएको छ । यस्तो अबस्थामा पनि कृषकहरुले मलको अभाव भएको भन्दै गुनासो गरेका छन् ।

Buddha International Hospital
Advertise with us

यद्यपि प्रत्येक वर्ष जसो हुने मलको अभाव यो वर्ष पनि दोहोरिने भएको छ । त्यसको संकेत अहिले देखि नै सुरु भएको छ । अनुदानको मल विक्रिवितरण गर्दै आएका कृषि सामग्री कम्पनी र साल्ट्र ट्रेडिङले आफुसँग मौज्दातमा मल निक्कै कम भएको बताउछन् । कृषि प्रदान देशका नेपाली कृषकहरु प्रत्येक वर्ष सिंचाई र मलको अभावका कारण भौतारिनु पर्ने र जोखिम मोल्नु पर्ने अबस्थामा रहेको कृषकहरुले बताउछन् ।

यो समय कृषकहरुले सरकारबाट अनुदानमा मल प्राप्त गर्नुपर्ने भएपनि दाङमा मलको समस्या रहेको छ । अनुदानको मल सहकारी मार्फत कृषकको हातमा पु¥याउने नीति बनाएको छ, तर सहकारीहरु कृषि सामग्री कम्पनी र साल्ट्र टेनिङमा मलको अभाव रहेको बताउँदै आएका छन् । उज्यालो कृषि सहकारी संस्थाका व्यवस्थापक लौटन चौधरीले कृषकहरुबाट मलको माग हुँदै आएपनि कृषि सामग्री कम्पनी र साल्ट्र टेनिङमा मलको अभाव रहेको बताउनुभयो ।

अहिले कृषि सामग्री कम्पनी र साल्ट्र ट्रेडिङ घोराहीले सहकारी मार्फत कृषकको हातमा मल पु¥याउने काम गर्दै आएका छन् । तर कृषि सामग्री कम्पनी र साल्ट्र ट्रेडिङमा मलको मौज्दात कम छ । कृषि सामग्री कम्पनी घोराहीका प्रमुख विष्णुप्रसाद केसीका अनुसार अहिले दाङ सहित देशभर मलको अभाव रहेको बताउनुभयो । ‘अहिले एक दुई ट्रक मल आयो भने बाड्ने काम गरिएको छ, अबको दशदिन भित्र युरिया मल आउने तयारीमा रहेको छ भने डिएपी मल कृषकहरुले पाउनको लागि असार महिना कुर्नुपर्ने देखिएको छ ।’ केसीले भन्नुभयो । साल्ट्र ट्रेडिङ कार्यालय घोराहीका आनन्दकुमार न्यौपानेले पनि मलको स्टक कम भएकाले सहकारीले माग गरे अनुसारको मल वितरण गर्न नसकेको बताउनुभयो ।

कृषि सामग्री कम्पनी घोराहीले आफ्नो क्षेत्र घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकामा गत वर्ष २ हजार ५ सय टन युरिया, एक हजार ८ सय टन डिएपी र ५७ टन पोटास वितरण गरेको थियो, अहिले एक हजार २ सय ५१ टन युरिया, ९ सय टन डिएपी र ३७ टन पोटास मल वितरण गरेको प्रमुख केसीले बताउनुभयो । उता साल्ट्र ट्रेडिङ घोराहीले यो वर्ष ६ सय १८ टन युरिया, ४ सय ९८ टन डिएपी र २९ टन पोटास वितरण गरेको प्रमुख न्यौपानेले बताउनुभयो । साल्ट्र ट्रेडिङले गैर अनुदान मल (एसएसपी) १ सय ४२ टन वितरण गरेको छ ।

घोराहीमा ६४ वटा सहकारीलाई अनुदानको मल विक्रि वितरण गर्ने अनुमति छ भने तुलसीपुरमा ८० । लमही क्षेत्रमा ३४ वटा सहकारीले कृषि सामग्री कम्पनी र साल्ट्र ट्रेडिङबाट मल किनेर कृषकहरुलाई वितरण गर्दै आएका छन् । अनुदानमा कृषकहरुले ५० किलोग्रामको प्रतिबोरा २ हजार २ सय ८ रुपैयामा डिएपी, ७ सय ५८ रुपैयामा युरिया र एक हजार ६ सय ८ रुपैयामा पोटास खरिद गर्न पाउने व्यवस्था मिलाईएको छ ।

‘केहि मात्रामा कृषकहरुको हातमा पुगेको छ, केहि मल आउने तयारीमा रहेको छ, पानी पनि खासै नपरेका कारण कृषकहरुले मल खोज्ने समय पनि भएको छैन ।’ कृषि सामग्री कम्पनी घोराहीका केसीले भन्नुभयो, ‘कृषकबाट मलको माग अत्यन्तै धेरै छ, त्यस अनुसारमा वितरण गर्न सकिएको छैन ।’