घोराहीको सडक र कटुवा खोला पुल अलपत्र छोड्ने ठेकेदारलाई कारबाहीको सिफारिस

नवीन अभिलाषी
दाङ, जेठ १४ । दाङको घोराही लमही सडक खण्ड अन्र्तगत पर्ने कुवा खोला पुल र कटुवा खोलादेखि तुलसीपुर चौक सम्मको सडक निर्माण कार्यमा लापरबाही गरेपछि सडक डिभिजन कार्यालय दाङले निर्माण कम्पनीलाई कारबाहीको सिफारिस गरेको छ । सडक डिभिजन कार्यालय दाङले जिल्ला प्रशासन कार्यालयलाई पत्र काट्दै कारबाहीको सिफारिस गरेको हो ।

निर्माण कम्पनी शंकरमाली निर्माण सेवा प्रा.लीले कटुवा खोला पुल निर्माण र कटुवा खोला पुल देखि तुलसीपुर चौक सम्मको सडक निर्माणका लागि २०७१ भदौ ११ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७२ असार २५ गतेसम्म निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेमा निर्माण कम्पनी शंकरमालीले २०७४ असोज १० गतेसम्म म्याद थप गर्दा पनि सम्पन्न नभएपछि सडक डिभिजन प्रमुख जितेन्द्रकुमार चौधरीले कारबाहीका लागि सिफारिस गर्नुभएको हो ।

Buddha International Hospital
Advertise with us

काठमाण्डौ स्थित कोटेश्वर ३५ मा रहेको शंकरमाली निर्माण सेवा प्रालीको स्थानीय निर्माण व्यवसायी (ठेकेदार) घोराही १५ भरतपुर निबासी पदम शर्मा हुनुहुन्छ । उहाँको सक्रियतामा भएको निर्माण आयोजनाको काम अहिलेपनि सम्पन्न हुन सकेको छैन । कटुवा खोलाको पुलको लागत ४ करोड १० लाख ७५ हजार रहेको छ । निर्माणको अन्तिम चरणमा रहेको पुल अहिले झन जोखिम युक्त बनेको छ ।