‘ईच्छुक’को स्मरण…

नवीन अभिलाषी
दाङ, जेठ १३ ।

‘हाम्रा गीतहरुमा प्रतिबन्ध लगाउँदै

Advertise with us
हाम्रा ओंठहरुमा
ताल्चा झुण्ड्याउँदै तिमी भन्छौ,
गाउ न त गाउ
तर यो गीत नगाउ
हामी भने त्यही गीत गाइरहन्छौं…’

Buddha International Hospital

तत्कालिन राज्य व्यवस्थाले प्रतिबन्ध लगाएको गीत गाएर राजनीतिक तथा सामाजिक रुपान्तरणको बाटोमा हिडेकै कारण मारिएका कृष्ण सेन ईच्छुकको कवितांश हो यो । उनै नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी, प्रगतीबादी साहित्यकार तथा पत्रकार कृष्ण सेन ईच्छुक प्रत्येक वर्ष जस्तै यो वर्षपनि सम्झिईए । १७ औ स्मृति दिवसको अवसर पारेर दाङका विभिन्न संघसंस्थाहरुले कार्यक्रमको आयोजना गरे र ईच्छुकको विचार, सिद्धान्तको ब्याख्या गर्दै राजनीतिक एवं सामाजिक रुपान्तरणका लागि उहाँले पु¥याउनु भएको योगदानको चर्चा गरे ।

नेपाल पत्रकार महासंघ दाङ, प्रेस संगठन दाङ र जनसांस्कृतिक महासंघ दाङले ईच्छुकको १७ औ समृति दिवसको अबसरमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष डा. अमर गिरीले प्राप्त उपलब्धीहरुको रक्षा पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । वर्तमान अवस्थामा नेपाली जनतामा निराशाका बढी छाएको भन्दै उर्जा दिने कार्यलाई प्राथमिकता दिएर सरकारले काम गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । ‘रचानात्मक भूमिका निर्वाह गर्दै प्राप्त भएका उपलब्धीहरुलाई सार्थक बनाउने बेला आएको छ ।’

ईच्छुकको स्मरण गर्दै नेकपाका केन्द्रीय सदस्य हेमराज शर्मा डाइमण्डले सहिदहरुको त्याग, बलिदानी, तपस्या र उनीहरुको भुमिकालाई फराकिलो बनाउँदै नेपाली जनतालाई सुखी बनाउने अभियान लाग्नुपर्ने बताउनुभएको थियो । यस्तै सम्मानित व्यक्तित्व नारायणप्रसाद शर्माले पत्रकारितामा विकृतिहरु भित्रिएको भन्दै त्यस्ता बिकृतिलाई निर्मुल पार्न सबै लाग्नुपर्ने बताउनुभएको थियो ।

यस्तै कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सहिद कृष्ण सेन ईच्छुक महान् व्यक्तित्व रहेको भन्दै उनको नाममा देखिने गरी कुनै काम हुन नसकेको बताएका थिए । राज्यले पछिल्लो समयमा केही काम गर्न लागेको भन्दै उनीहरुले सेनको योगदानले देशमा परिवर्तनमा सहयोग पुगेको बताएका थिए । प्रेस संगठन नेपालका प्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस संगठनका जेएन सागरले स्वागत गर्नुभएको थियो भने धन्यावाद जनसाँस्कृतिक महासंघका अध्यक्ष रञ्जित बुढाले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार महासंघका सचिव भुपेन्द्र वलीले गर्नुभएको थियो ।

को हुन् कृष्ण सेन ईच्छुक ?
कृष्ण सेन इच्छुक जनदिशा दैनिकका प्रधान सम्पादक हुनुहुन्थ्यो । इच्छुक नेपालको प्रगतिवादी साहित्यिक र सांस्कृतिक आन्दोलनमा समर्पित व्यक्तित्व हो । शब्द र कर्मबीचको एकत्व उहाँको जीवनको एक महत्वपूर्ण र अनुकरणीय पक्ष थियो । उहाँले आफूले आत्मसात गरेको आदर्शका निम्ति आफ्नो जीवनको बलिदान दिनुभयो ।

विसं २०१३ मा भारतको देहरादुनमा जन्मिएका सेनको पुख्र्यौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । जलुके दाङ जिल्लाको पुरानो शहर भालुवाङको नजिकै रहेको छ । उहाँले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियाबाट सुरुवात गर्नुभएको हो । सामान्य लाहुरे परिवारमा जन्मिएका इच्छुकले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गर्नुभएको थियो ईच्छुक पत्रकार र साहित्यकार मात्र होइन शिक्षक र सचेत राजनीतिकर्मी पनि हुनुहुन्थ्यो ।

मूलतः उनी नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो स्थान निर्माण गर्न सफल रहेका ईच्छुकको काव्य व्यक्तित्व खुम्चिएन, त्यो अझ फराकिलो र उर्वर हुँदै गयो । आफ्नो अढाई दशक लामो काव्य यात्रामा इच्छुकले नेपाली प्रगतिवादी काव्य फाँटलाई समृद्ध गर्न उल्लेखनीय योगदान गर्नुभएको छ ।

जनयुद्ध उत्कर्षमा पुगेको बेलामा महेन्द्र पुलिस क्लबका तत्कालिन डिआइजी अमरसिंह शाह, डिआइजी बिक्रम सिंह थापा लगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातना दिएर सेनको हत्या गरेका थिए । उहाँको शवलाई बोरामा पोको पारेर सरकारी गाडीको रातो नम्बर प्लेट परिवर्तन गरी सेतो बनाउन लगाएर बा १ च ६०१७ नम्बरको सेतो रङको पिकअप भ्यानमा सेनको शव महेन्द्र पुलिस क्लवबाट चुपचाप बाहिर निकालिएको थियो । सोही दिन सेनको शव आर्यघाटमा लगेर गुपचुप दाहसंस्कार गरेको थियो ।

शर्मा, पीडित र आचार्य सम्मानित
यस वर्षको ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार’ बरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष नारायणप्रसाद शर्मालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७ औं स्मृति दिवसका अवसरमा शर्मालाई पुरस्कार प्रदान गरिएको हो ।

प्रेस संगठन नेपाल दाङमा स्थापित ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार’ प्रगतिशील नेपालका पूर्व अध्यक्ष डा. अमर गिरीले शर्मालाई प्रदान गर्नुभएको हो । रु १० हजार राशिको पुरस्कार हरेक वर्ष एक जना वरिष्ठ पत्रकारलाई प्रदान गरिदै आइएको छ । मुलुकको पत्रकारिताको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष शर्मा दाङबाट प्रकाशित नयाँ युगबोध दैनिकसँग आवद्ध हुनुहुन्छ । २०२८ सालदेखि नयाँ युगबोध पत्रिका प्रकाशन गरेर पश्चिम नेपालको पत्रकारिताको विकासका लागि भूमिका निर्वाह गर्नुभएका शर्मा प्रेस काउन्सिल नेपालको अध्यक्ष भएर काम गरिसक्नुभएको छ । शर्माले शिक्षण, राजनीति, पत्रकारिता, साहित्य र नागरिक आन्दोलन गरी पाँच वटा क्षेत्रमा काम गरिसक्नुभएको छ ।

त्यसैगरी अखिल नेपाल जनसांस्कृतिक महासंघ दाङमा स्थापित ‘कृष्णसेन इच्छुक स्मृति साहित्यिक पुरस्कार’ बाट साहित्यकार सौगात आचार्य पुरस्कृत हुनुभएको छ । रु ५० हजार राशिको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि डा. गिरीले आचार्यलाई प्रदान गर्नुभएको हो । त्यस्तै नेपाल पत्रकार महासंघ दाङमा स्थापित ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केएल पीडितलाई प्रदान गरिएको छ । नौलो जनउभारका पूर्व सम्पादकसमेत रहनुभएका पीडितलाई रु १० हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।

Advertise with us