युद्ध जितेर जीवन जित्न नसकेकी ममता

तुलसीपुर, जेठ १३ । मुलुकलाई परिवर्तन गर्न दाङ तुलसीपुर २ कुमलगढी निवासी ममता चौधरी १० वर्षे जनयुद्ध लड्नुभयो । उनीहरुजस्तै लाखौ नेपाली लडेको लडाईबाट जित हाँसिल गरियो, तर अहिले ममता जस्तै धेरै अलपत्र अवस्थामा छन् ।

Buddha International Hospital

उनीहरुकै लडाईबाट आएको मुलुकको गणतन्त्र, नयाँ संबिधानको आडमा धेरै नेता तथा कार्यकर्ताहरु सरकारी ढुकुटी रित्याएर विदेश गएर उपचार गराउने गरेका छन तर ममता भने अहिले आफ्नो उपचारका लागि सडकमा भौतारिनु परेको छ । ‘हामीले १० वर्ष लड्यौं, देशको लागि लडेको त्यो लडाई जित्न सफल भईयो’ उहाँले भन्नुभयो ‘तर अहिले आफ्नो स्वास्थ्यका लागि लड्दै छु, तर यो लडाईलाई जित्न सकिरहेकी छैन् ।’

Advertise with us

रिपोर्टस् क्लब दाङमा भएको पत्रकार सम्मेलनमा उहाँले रुदै भन्नुभयो, ‘दुबै मिर्गौलाले काम नगर्ने भएपछि अहिले मेरो जीवन डायलासिसबाट चलिरहेको छ । अहिलेसम्म करिब ४० लाख बर्च भईसकेको छ ।’ अब ३०÷३५ लाख भए मात्रै उपचार सम्भव हुने भनी डाक्टरले सल्लाह दिएको उहाँ बताउनु हुन्छ, ‘अहिले नियमित डायोलासिस गरिरहेकी छु, श्रीमानको मिर्गौला राख्ने भनिएपनि श्रीमानको मिर्गौला नमिलेपछि किनेर भएपनि मिर्गौला राख्ने योजना बनाएका छौं ।’

अरुको मिर्गौला राख्नका लागि करिब ३० लाख भन्दा बढि लाग्ने डाक्टरले भनेपनि अहिले आफुसँग कुनै सम्पति नभएपछि आर्थिक सहयोग जुटाउन सडकमा भौतारिरहेको ममताले बताउनुभयो । ‘श्रीमान विदेश हुुनुहुन्थ्यो, मेरा दुबै मिर्गौलाले काम गर्न छोडेपछि आफ्नो मिर्गौला दिने भनी बिदेशबाट छोडेर घर आउनुभयो’ उहाँले दुखेसो पोख्नुभयो, ‘तर श्रीमानको मिर्गौला पनि मिलेन, श्रीमानले बिदेशबाट ल्याएको पैसा पनि सबै सकियो, घरको जग्गा जमिन पनि सबै बेचिसक्यौं, आमाले पनि जग्गा बेचेर मेरो उपचार गर्नुभयो, अब हामी सहयोगीकै आशमा छौं ।’ अहिले उहाँका स–साना दुई सन्तान छन् । एउटा छोरी र एउटा छोरा रहेको भन्दै उनीहरुलाई कसरी पालन पोषण गर्ने भन्ने अर्को चिन्ता थपिएको ममता बताउनु हुन्छ ।

तीन वर्षदेखि उहाँका दुबै मिर्गौलाले काम गर्न छोडेका छन् । उहाँले गएको वर्ष माघ महिनादेखि डायलासिस गर्न शुरु गर्नुभएको हो । अहिले उहाँको काठमाडौं स्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा उपचार भईरहेको छ । आउदा, जाँदा निकै पैसा खर्च हुने भन्दै राप्ती प्रादेशिक अस्पतालमा उपचार गराउने भनिएपनि मिर्गौला मात्रै नभई टिभिको पनि बिरामी भएकाले यसका लागि काठमाडौंमा नै उपचार गराउनु पर्ने उहाँको भनाई छ ।

चौधरीले उपचारको लागि आर्थिक अबस्था कमजोर भएको भन्दै आईतबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि सहयोगको याचना गर्नुभएको छ । त्यस अवसरमा विभिन्न संस्था तथा ब्यक्तिहरुले सहयोग पनि गरेका छन् । तुलसीपुरको डिभाईन ईनिष्टिच्यूटका हिमाल डाँगीले पाँच हजार, तुलसीपुरका तुलाराम भण्डारले पाँच हजार एक सय, जीवन ओलीले पाँच हजार एक सय पाँच सहयोग गर्नुभएको छ ।

त्यसैगरी रामशरण थापाले तीन हजार, कुमार भण्डारीले पाँच सय, जितेन्द्रराज गौतमले पाँच सय, पुस्कर सुनारले पाँच सय आर्थिक सहयोग गर्नुभएको छ । तुलसीपुर जेसीजका अध्यक्ष मेघराज घिमिरेले पनि जेसिजको तर्फबाट संस्थागत रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । चौधरीलाई सहयोग गर्न चाहनेले उहाँको गोलबल आईएमीको खाता नं १००७०१०००९३२१ मा जम्मा गर्न सकिने छ । साथै मृगौला पीडित चौधरीको मोवाईल नम्वर ९८१२८०४७५५ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

चटपटे बेचेर मिर्गौला पीडितलाई सहयोग
चौधरीकै उपचारका लागि दाङ फेमिना ग्रुपले चटपटे व्यापार गरि संकलन भएको रकम हस्तान्तरण गरेको छ । मंगलबार तुलसीपुर बजारमा गरेको चटपटे ब्यापारबाट संकलन भएको १९ हजार दुई सय ३० रुपैँया सहयोग गरेका थिए । उक्त रकमलाई दाङ फेमिनाका शिक्षा श्रेष्ठले आईतबार पीडित चौधरीलाई हस्तान्तरण गर्नुभएको हो ।